काठमाडौं । अध्यागमन विभागले नेपालमा भिसाको उद्देश्य विपरीत गतिविधि सञ्चालन गर्दै आएका तीन जना इण्डोनेशियाली महिलालाई नियन्त्रणमा लिएको छ।
सन् २०२४ मा अध्ययन भिसा लिएर नेपाल प्रवेश गरेकी एक इण्डोनेशियाली महिलाले ललितपुरको धोबिघाटस्थित हिमालय शिक्षा तथा हितेशी समाज नामक संस्थामा गर्ल्स होस्टेल सञ्चालन गर्दै आएकी थिइन्। सोही होस्टेलमार्फत उनले दुई जना अन्य इण्डोनेशियाली महिलालाई शिक्षकका रुपमा राखी छात्राहरुलाई टर्कीस भाषा र कुरान पढाउने कार्य गर्दै मुस्लिम धर्म प्रचार–प्रसार गर्दै आएको विभागले जनाएको छ।
अध्यागमन विभागका अनुसार उक्त संस्थाले टर्कीमा अवस्थित SAHA EGITM KULTUR VE DUSTULUK DERNEGI, SAHA INTERNATIONAL र बेलायतको एक धर्मप्रचारक संस्थाबाट हरेक वर्ष करिब २ करोड ५० लाख रुपैयाँ प्राप्त गर्दै आएको खुलासा भएको छ। 
नियन्त्रणमा परेकामध्ये एक जना इण्डोनेशियालीले पर्यटक भिसा र बाँकी दुई जनाले अध्ययन भिसा लिएका थिए। उनीहरूले ललितपुरकै ज्वागलमा ब्वाइज होस्टेलसमेत सञ्चालन गरी विभिन्न जिल्लाका करिब ५० विद्यार्थीलाई कुरान पढाउँदै आएको भेटिएको छ। ती विद्यार्थीहरू अन्य कुनै शैक्षिक संस्थामा अध्ययन नगरेको पाइएको विभागले जनाएको छ।
अध्यागमन ऐन, २०४९ र अध्यागमन नियमावली, २०५१ अनुसार विदेशी नागरिकले प्राप्त गरेको भिसाको उद्देश्य बाहेक अन्य कार्य गर्न पाउँदैनन्। पर्यटक वा अध्ययन भिसामा नेपाल प्रवेश गर्ने व्यक्तिले कुनै पनि संस्थामा काम वा व्यवसाय गर्न नमिल्ने कानुनी व्यवस्था रहेको छ।
अध्यागमन ऐन, २०४९ र अध्यागमन नियमावली, २०५१ अनुसार विदेशी नागरिकले प्राप्त गरेको भिसाको उद्देश्य बाहेक अन्य कार्य गर्न पाउँदैनन्। पर्यटक वा अध्ययन भिसामा नेपाल प्रवेश गर्ने व्यक्तिले कुनै पनि संस्थामा काम वा व्यवसाय गर्न नमिल्ने कानुनी व्यवस्था रहेको छ। गैरकानूनी रुपमा बसेका विदेशीलाई अनुसन्धानपछि अधिकतम ५० हजार रुपैयाँ जरिवाना र अवधी तोकी वा नतोकी म्याद बिनानै नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गर्ने कानूनी प्रावधान रहेको विभागले स्पष्ट पारेको छ।
विभागले नियन्त्रणमा परेका तीन इण्डोनेशियाली नागरिकमाथि आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।












