काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। २८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड छोटो प्रारूपमा आक्रामक ब्याटिङका लागि परिचित छन्।
मध्यक्रममा ब्याटिङ गर्ने रदरफोर्डले तीव्र गतिमा रन बनाउन सक्ने क्षमता राख्छन्। उनले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीयमा ८७३ रन बनाएका उनले टी–२० अन्तर्राष्ट्रियमा १ हजार १२३ रन जोडेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ८४ रन हो।
रदरफोर्डको टी–२० क्रिकेटमा अनुभव पनि उल्लेखनीय छ। उनले अहिलेसम्म २८३ खेलमा ५ हजार ९० रन बनाएका छन्। यस क्रममा उनले ३२४ छक्का प्रहार गरेका छन् भने उनको ब्याटिङ स्ट्राइक रेट १४२.०५ रहेको छ। बलिङतर्फ उनले ३३ इनिङमा बलिङ गर्दै १८ विकेट लिएका छन्।
सन् २०१८ मा क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट टी–२० क्रिकेटमा पदार्पण गरेका रदरफोर्डले सोही वर्ष वेस्ट इन्डिजबाट टी–२० अन्तर्राष्ट्रिय खेल्न थालेका थिए। उनले सन् २०२३ मा इंग्ल्यान्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा पदार्पण गरेका थिए। दोस्रो खेलमै उनले ६३ रन बनाएका थिए।
फ्रेन्चाइज क्रिकेटमा उनले इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगलादेश प्रिमियर लिग, लंका प्रिमियर लिग, आईएलटी–२०, मेजर लिग क्रिकेट र सीपीएलमा खेलिसकेका छन्। उनी सन् २०२२ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले सीपीएल उपाधि जित्दा टोलीमा थिए। त्यस्तै, सन् २०२०–२१ मा कराँची किङ्सबाट पीएसएल उपाधि जितेका थिए।
आईपीएलमा रदरफोर्डले सन् २०२५ मा गुजरात टाइटन्सबाट १३ खेल खेल्दै २९१ रन बनाएका थिए। यसअघि उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबाट पनि खेलेका थिए।
रदरफोर्डको आगमनले एनपीएलको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सको मध्यक्रमको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ।










