काठमाडौं । मौसमविद्ले बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै स्थानमा झरी पर्ने सम्भावना रहेकाले धान नकाट्न किसानलाई सुझाव दिएका छन् । केही स्थानमा भारी वर्षा हुन सक्ने र उच्च हिमाली क्षेत्रमा भारी हिमपात तथा चिसो बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणाली चक्रवातमा विकसित हुने सम्भावना छ । यससँगै माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखाको प्रभावले नेपालमा वर्षाको सम्भावना बढाएको उनले बताएका छन् ।

ADVERTISEMENT

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षाको सम्भावना बढी रहेको जानकारी दिएका छन् । उनका अनुसार तल्लो तहको न्यूनचापीय प्रणाली र माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखाको अनुकूल संयोगले ओसिलो हावा माथि उठ्ने प्रक्रिया बलियो बनाउन सक्छ ।

ADVERTISEMENT

धान पाकिसकेको र काटेर सुकाई सुरक्षित रूपमा भित्र्याउन सकिने अवस्था भए स्थानीय मौसमको जानकारी लिएर मंगलबारअगावै काम सक्ने योजना बनाउन उनले किसानलाई सुझाव दिएका छन् ।

त्यस्तै, उच्च हिमाली क्षेत्रमा यात्रा वा ट्रेकिङमा जानेहरूले नियमित मौसम अपडेट र आधिकारिक सूचना हेरेर मात्रै यात्रा योजना बनाउनुपर्ने उनले बताएका छन् ।

करिब एक महिनाअघि पनि यस्तै मौसमी प्रणालीका कारण नेपालमा भारी वर्षा भएको स्मरण गर्दै पोखरेलले यसपटक पनि वर्षा सुरु हुने समय, प्रभावित स्थान र वर्षाको मात्रा पूर्वानुमानभन्दा फरक हुन सक्ने बताएका छन् ।