ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी संकलन भएको छ । सो अवधिमा २० हजार ५२२ जना भक्तजनले पाथीभराको दर्शन गरी पूजापाठ गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार भक्तजनले स्वेच्छाले चढाएको नगद भेटीबाट उक्त रकम संकलन भएको हो ।

ADVERTISEMENT

समितिका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा दुई हजार ४६९ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । उक्त महिनामा तीन लाख १८ हजार ५०० रुपैयाँ भेटी संकलन भएको थियो ।

ADVERTISEMENT

त्यस्तै, भदौ महिनामा छ हजार १२३ जना भक्तजनले दर्शन गर्दा २३ लाख ६७ हजार रुपैयाँ भेटी संकलन भएको थियो । असोज महिनामा भने ११ हजार ९३० जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । उक्त महिनामा १६ लाख ४१ हजार १५० रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ ।

तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा धाम पूर्वी नेपालको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । यहाँ पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम र पाँचथर हुँदै मेची राजमार्ग प्रयोग गर्न सकिन्छ । त्यसैगरी, काठमाडौं–सुकेटार हवाईमार्गबाट समेत पाथीभरा क्षेत्र पुग्न सकिन्छ ।

सुकेटारसम्म पक्की सडकको सुविधा भए पनि काफ्लेपाटीसम्मको कच्ची सडकका कारण यात्रामा कठिनाइ हुने गरेको छ । काफ्लेपाटीदेखि मन्दिरसम्म पुग्न करिब पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्छ । धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यको अनुभव गर्न पाइने भएकाले पनि पाथीभरा दर्शनका लागि पुग्ने भक्तजनको आकर्षण बढ्ने गरेको छ ।

पैदल यात्रालाई सहज बनाउन मार्गका विभिन्न स्थानमा पानी र हिउँबाट जोगिन फाइबरका छाना राखिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।