पोखरा। पोखरा उपत्यकाको पुम्दीकोटमा भगवान महादेवको ५१ फिट अग्लो विशाल मूर्ति निर्माण भएपछि यो क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पुम्दीकोट आकर्षणको केन्द्र बन्दै गएको हो।
धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले करिब २२ रोपनी क्षेत्रफलमा निर्माण गरिएको यस संरचनामा विशाल शिव मूर्तिसँगै १०८ वटा शिवलिंग, डमरु, कलश लगायतका धार्मिक संरचना निर्माण गरिएका छन्। यसले पुम्दीकोटलाई धार्मिक आस्थाको केन्द्रका रूपमा समेत स्थापित गरेको छ।
पोखरा बजारबाट करिब १३ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटबाट हिमशृङ्खलाको मनोरम दृश्यसँगै सराङकोट, फेवाताल र सम्पूर्ण पोखरा क्षेत्रको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। पछिल्लो समय यहाँ दिनहुँ सयौँ पर्यटक पुग्न थालेका छन्, जसले स्थानीय पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पारेको छ।













