काठमाडौँ । साउदी अरबमा भएको ड्रोन आक्रमणका क्रममा एक नेपालीसहित दुई विदेशी नागरिकको मृत्यु भएको छ ।

साउदी अरबको पूर्वी प्रान्तमा रहेको सायबाह तेल खानीस्थित अरामकोको प्रशोधन केन्द्रलाई लक्षित गरी बुधबार (अक्टोबर २१) बिहान गरिएको आक्रमणमा उनीहरूको मृत्यु भएको हो ।

ADVERTISEMENT

साउदी ऊर्जा मन्त्रालयका अनुसार प्रशोधन केन्द्रतर्फ आउँदै गरेको ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो । त्यस क्रममा खसेको भग्नावशेषले तेल खानी परिसरबाहिर रहेको ठेकेदार कम्पनीको गाडीमा आगलागी भएको थियो ।

ADVERTISEMENT

उक्त घटनामा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मृतकको नाम र अन्य व्यक्तिगत विवरण भने सार्वजनिक गरिएको छैन । घटनामा एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएका छन् ।

तेल खानीको सञ्चालनमा असर परेन

साउदी ऊर्जा मन्त्रालयका अनुसार घटनापछि सम्बन्धित सुरक्षा तथा उद्धार निकायले तत्काल आवश्यक कदम चालेका थिए ।

आक्रमणका कारण ठेकेदार कम्पनीको गाडीमा आगलागी भए पनि तेल खानीको नियमित सञ्चालनमा कुनै असर नपरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

सायबाह तेल खानी साउदी अरबको महत्त्वपूर्ण तेल उत्पादन केन्द्रमध्ये एक हो । पछिल्लो घटनाले मध्यपूर्वमा बढ्दो सुरक्षा तनावबीच त्यहाँ कार्यरत विदेशी श्रमिकसमेत जोखिममा परेको देखाएको छ ।

आक्रमण कसले गराएको हो भन्ने विषयमा साउदी अधिकारीहरूले सार्वजनिक गरेको विवरणमा स्पष्ट उल्लेख छैन ।