गोरखा । बडादसैँको अवसरमा गोरखाको अजिरकोट गाउँपालिका–स्थित सिरानडाँडामा रोटे पिङमा रमाउने स्थानीयवासीको चहलपहल बढेको छ। दसैँ मनाउन रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा गाउँबाहिर रहेका मानिसहरू घर फर्किन थालेपछि गाउँघरमा चाडपर्वको रौनक छाएको हो।
दसैँको मौलिक परम्परालाई निरन्तरता दिँदै स्थानीयवासीले सामूहिक रूपमा रोटे पिङ निर्माण गरेका छन्। पिङ खेल्दै रमाइलो गर्ने र एकआपसमा खुसी साटासाट गर्ने क्रम बढेसँगै सिरानडाँडामा दसैँको उत्साह थपिएको छ।
चाडपर्वका बेला लामो समयपछि भेटिएका आफन्त, साथीभाइ र गाउँलेहरू पिङ खेल्दै रमाउने गरेका छन्। गाउँ फर्किएका परिवारका सदस्य तथा आफन्तसँग भेटघाट गर्ने, सुखदुःख साटासाट गर्ने र सामूहिक रूपमा चाडपर्व मनाउने क्रमले गाउँमा छुट्टै रौनक थपेको छ।
दसैँमा पिङ खेल्ने परम्परा नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहँदै आएको छ। यस्तो परम्पराले आपसी सद्भाव, सामाजिक एकता र सम्बन्धलाई बलियो बनाउनुका साथै नयाँ पुस्तालाई पुराना संस्कृति र परम्पराबारे परिचित गराउनसमेत योगदान पुर्याउँदै आएको छ।












