गोरखा । धार्चे गाउँपालिका क्षेत्रमा रहेको कालोभीरमा खसेको सुख्खा पहिरोका कारण अवरुद्ध बनेको बेनिघाट–लार्के सडकखण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याउन पहल सुरु गरिएको छ।
गाउँपालिकाले स्थानीय जलविद्युत आयोजनाहरूसँग समन्वय गर्दै वैकल्पिक ट्रयाक खोल्ने काम अघि बढाएको हो। गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार पहिरो हटाउँदै भत्किएको मूल सडकभन्दा केही तल र नदी प्रवाहभन्दा माथिल्लो भागबाट अस्थायी बाटो निर्माण भइरहेको छ।
उनले पाँच दिनभित्र सवारी आवागमन सहज बनाउने लक्ष्य राखिएको जानकारी दिए। हाल जलविद्युत आयोजनाबाट उपलब्ध गराइएका उपकरण प्रयोग गरी काम भइरहेको छ।
बेनिघाट–लार्के सडक पृथ्वीराजमार्गबाट उत्तरी क्षेत्र हुँदै चीन सीमासम्म जोड्ने महत्वपूर्ण मार्ग हो, जसको निर्माण कार्य नेपाली सेनाले गरिरहेको छ। तर यस वर्षको बजेट समाप्त भइसकेकाले स्थायी समाधानका लागि आवश्यक स्रोत अभाव देखिएको छ।
स्थायी रूपमा सडक पुनःनिर्माण गर्न समय लाग्ने भएपछि तत्कालका लागि वैकल्पिक उपाय अपनाइएको अध्यक्ष गुरुङले बताए। उनका अनुसार यदि छिट्टै बाटो खुलाउन सकिएन भने चुमनुब्री गाउँपालिकाका बासिन्दाहरू खाद्यान्न तथा अत्यावश्यक सामग्रीको अभावमा पर्न सक्ने जोखिम रहेको छ।
बर्खा सुरु हुनु अघि आवश्यक सामग्री ढुवानी गर्न नसके गम्भीर समस्या आउन सक्ने भएकाले अस्थायी ट्रयाक खोल्ने कार्यलाई प्राथमिकता दिइएको जनाइएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय गोरखाले पनि तत्काल सडक सञ्चालनमा ल्याउन आग्रह गर्दै गाउँपालिकालाई पत्राचार गरेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार उत्तरी गोरखाका नागरिकको आवतजावत तथा आपूर्ति व्यवस्थामा समस्या नआओस् भन्ने उद्देश्यले शीघ्र समाधान खोज्न निर्देशन दिइएको हो।





