काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न पाउने दैनिक संख्यात्मक सीमा अस्थायी रूपमा बढाएको छ। नयाँ व्यवस्थाअनुसार तोकिएको अवधिमा प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो। यसअघि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिने व्यवस्था थियो।

ADVERTISEMENT

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को निर्देशन नम्बर ५/०८१ को बुँदा नम्बर ३ को उपबुँदा (२०) अनुसार लागू हुँदै आएको उक्त सीमालाई पर्व लक्षित सुविधाअन्तर्गत बढाइएको हो।

ADVERTISEMENT

राष्ट्र बैंकका अनुसार दसैँका अवसरमा २०८३ असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म दैनिक ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ। त्यस्तै, शुभ दीपावली तथा छठ पर्वका अवसरमा २०८३ कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म पनि यही सुविधा उपलब्ध हुनेछ।

ADVERTISEMENT

पर्वका समयमा डिजिटल भुक्तानी तथा वित्तीय कारोबार बढ्ने भएकाले सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले अस्थायी रूपमा सीमा बढाइएको राष्ट्र बैंकले जनाएको छ।

यस व्यवस्थाले चाडपर्वको समयमा डिजिटल वालेट प्रयोगकर्तालाई रकम जम्मा गर्न सहज बनाउने अपेक्षा गरिएको छ।