काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले सात वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्काशन गरेको हो। यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो। कुल निष्काशनमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ।

ADVERTISEMENT

बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।

ADVERTISEMENT

न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सकिने

ऋणपत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम निष्काशित सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्रको निष्काशन छिटोमा कात्तिक १० गते र ढिलोमा कात्तिक १२ गते बन्द हुनेछ।

ADVERTISEMENT

कहाँबाट दिने आवेदन?

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

कस्तो छ बैंकको क्रेडिट रेटिङ?

ऋणपत्रका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले राष्ट्रिय वाणिज्य बैंकलाई ‘केयरएनपी सिंगल ए प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले बैंकले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षा रहेको संकेत गर्छ। ऋणपत्रबाट प्राप्त ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ।