काठमाडौं । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार काठमाडौंको सुन्धारास्थित सिल्भर ओक बैंक्वेट एन्ड इभेन्ट्समा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई करसहित कुल २.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा सोही आर्थिक वर्षको असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायत वित्तीय विवरणहरू पनि पारित गरेको बैंकले जनाएको छ।
२५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका २७९ शाखा, २९४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ।
बैंकले आगामी दिनमा पनि ग्राहकलाई थप सरल, सहज, सुलभ र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न आवश्यक सुधार तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।









