काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। अध्ययन, रोजगारी तथा व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन गाउँ फर्किन थालेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ यात्रु बाहिरिएका छन्।

ADVERTISEMENT

सबैभन्दा धेरै यात्रु नागढुङ्गा नाकाबाट बाहिरिएका छन्। उक्त नाकाबाट २७ हजार ६४९ जना बाहिरिँदा भक्तपुर नाकाबाट २० हजार ६१५ र फर्पिङ नाकाबाट ५ हजार ५१० यात्रु बाहिरिएका छन्।

ADVERTISEMENT

त्यस्तै, तीनपिप्ले नाकाबाट ९७२, भट्टेडाँडा नाकाबाट ८८६, साँखु नाकाबाट ६०८, भीमढुङ्गा नाकाबाट ५१३ र थानकोट नाकाबाट ५६ जना बाहिरिएका छन्।

घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवस्थापनमा चुनौती थपिएको यातायात व्यवसायीले बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिएका कारण सवारीसाधन समयमा गन्तव्यमा पुग्न र काठमाडौँ फर्किन समस्या भइरहेको छ।

ADVERTISEMENT

अग्रिम बस टिकट बुकिङ खुलेको असोज २३ गते धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर यातायात अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएको उनले बताए। यसले दसैँका यात्रु व्यवस्थापनमा थप समस्या सिर्जना गरेको उनको भनाइ छ।

महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।