काठमाडौं । एनएमबी बैंक लिमिटेडले ‘नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा र्यापिड टेक प्रालिसँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता गरेको छ। व्यावसायिक संस्थाले दैनिक रूपमा प्रयोग गर्दै आएका सफ्टवेयर तथा डिजिटल प्रणालीबाटै बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच सहकार्य भएको हो।
यस सहकार्यपछि एनएमबी बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकले आफ्नै व्यावसायिक प्रणालीभित्र रहेर रकम भुक्तानी, हिसाब मिलान (Reconciliation) तथा अन्य बैंकिङ कारोबार तत्काल गर्न सक्नेछन्। यसका लागि ग्राहकले प्रत्येक पटक छुट्टै बैंकिङ प्रणालीमा प्रवेश गर्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।
बैंकिङ सेवालाई व्यावसायिक प्रणालीसँग जोड्दा कम्पनीहरूले आफ्नो दैनिक वित्तीय कारोबारलाई एउटै प्रणालीबाट व्यवस्थापन गर्न सक्नेछन्। यसले कारोबार प्रक्रियालाई छिटो, सहज र व्यवस्थित बनाउनुका साथै समयको बचत गर्न सहयोग पुर्याउनेछ।
त्यसैगरी, साना तथा मझौला व्यवसायीले पनि व्यापारिक केन्द्र तथा विभिन्न डिजिटल प्लेटफर्ममार्फत बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्। यसबाट व्यवसायीलाई रकम भुक्तानी गर्न, कारोबार व्यवस्थापन गर्न र वित्तीय गतिविधि सञ्चालन गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
निकट भविष्यमा सञ्चालनमा ल्याउने तयारी गरिएको यो सुविधाले बैंकिङ सेवालाई ग्राहकले दैनिक प्रयोग गर्ने डिजिटल प्रणालीमै उपलब्ध गराउने लक्ष्य राखेको छ। यसले अनावश्यक प्रक्रियालाई घटाउँदै वित्तीय कारोबारलाई थप सरल र प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकले लिएको छ।
डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा बैंकिङ सेवालाई व्यावसायिक सफ्टवेयर तथा अन्य डिजिटल प्लेटफर्मसँग एकीकृत गर्ने यस्तो सहकार्यले व्यवसायीलाई प्रविधिमैत्री बैंकिङ सुविधा उपलब्ध गराउन सहयोग पुर्याउनेछ।
एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।







