काठमाडौं, २५ असोज । गोरखास्थित बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ। कालो लेदोसहित आएको बाढीले पक्की पुल, झोलुङ्गे पुल, घर तथा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। बाढीका कारण विभिन्न बस्तीसमेत जोखिममा परेका छन्।
प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–३, सिर्दीबासका रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ। धार्चे गाउँपालिका–५, माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ। सोही वडाको माछीखोलास्थित तल्लो बस्तीमा समेत बाढी पसेको छ।
त्यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल बगाएको छ। चुमनुब्री–३, सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावरहाउस र आसपासका सातदेखि आठवटा घरसमेत बाढीले बगाएको प्रारम्भिक विवरण छ।
आरुघाट गाउँपालिका–९, नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एउटा भाग बगाएको छ। पुल तीन भागमा रहेकोमा एउटा भाग बगेसँगै उक्त मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, धार्चे गाउँपालिका–३, सल्लेरीका २० देखि २२ वटा घर जोखिममा रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीबाट भएको कुल क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।
बाढीको कारणबारे अध्ययन हुँदै
बूढीगण्डकीमा बाढी आउनुको कारण अझै स्पष्ट भएको छैन। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार नदीको माथिल्लो क्षेत्रमा वर्षा भएको अभिलेख छैन।
वर्षाको अभिलेख नदेखिएकाले सुक्खा पहिरो गएर नदी थुनिएको वा हिमपहिरोका कारण बाढी आएको हुन सक्ने आशंका गरिएको छ।
पराजुलीले बाढीको उत्पत्ति र कारणबारे अध्ययन भइरहेको जानकारी दिएका छन्। उनका अनुसार बाढी मानव बस्तीभन्दा माथिको हिमाली क्षेत्रबाट सुरु भएको जस्तो देखिएको छ। पहिरोले नदी थुनिएर बाढी आएको हो वा हिमाली क्षेत्रमै बाढी सिर्जना भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
उद्धार तथा सतर्कता अपनाउन आग्रह
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि काठमाडौंंबाट नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ। नेपाल प्रहरीको टोलीसमेत परिचालन भएको छ। प्रहरीले विभिन्न स्थानमा बस्ती खाली गराउने र स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ।
बाढीको प्रभाव गोरखा र धादिङका साथै तनहुँ, मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान, नदीको बहाव हेर्न नजिक नजान र सुरक्षाकर्मी तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ। बाढीबाट भएको क्षति र उत्पत्तिको कारणबारे थप विवरण आउन बाँकी छ।
तस्वीर सौजन्य : मनास्लु संरक्षण क्षेत्र आयोजना








