गोरखा । आज बिहान चलेको हावाहुरीले गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लामा विद्यालय तथा स्थानीयका घरका छाना उडाएको छ ।
हावाहुरीले सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको जस्तापाताले बनेको छाना उडाएको स्थानीयले बताएका छन् । केही कच्ची घर तथा गोठका छानासमेत उडाएको छ ।
स्थानीय शिक्षिका सपना गुरुङका अनुसार हावाहुरी चल्दा विद्यालयको छाना उड्नुका साथै गाउँका केही घरमा पनि क्षति पुगेको छ ।
‘आकाश पूर्ण रूपमा खुला छ, घाम लागिरहेको छ । बादल लागेको छैन, तर हावा चलिरहेकै छ,’ उनले भनिन् ।
हावाहुरीले आसपासको जङ्गलका पातपतिङ्गरसमेत उडाएर गाउँभरि थुपारेको गुरुङले बताइन् ।












