काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै इन्टरनेट जडानमा छुट, बोनससहितको वार्षिक इन्टरनेट र सहुलियत दरका मोबाइल डाटा, भ्वाइस तथा एसएमएस प्याकेजसहितको ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म लागू हुने अफरअन्तर्गत नयाँ फाइबर टु द होम (एफटिटीएच) जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क छुट पाउनेछन्।
त्यस्तै, १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक इन्टरनेट प्याकेज खरिद गर्ने ग्राहकले एक महिना बोनस पाउनेछन्। यसअनुसार १२ महिनाको शुल्क तिरेर १३ महिनासम्म इन्टरनेट सेवा प्रयोग गर्न सकिनेछ। बोनसका रूपमा उपलब्ध मोबाइल डाटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
भर्चुअल सेटटप बक्ससहितको प्याकेजमा यसअघि उपलब्ध एक हजार रुपैयाँ छुटको सुविधा पनि जारी रहने कम्पनीले जनाएको छ।
४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
मोबाइल ग्राहकका लागि नेपाल टेलिकमले दुईवटा ‘फेस्टिभल अनलिमिटेड’ प्याकेज ल्याएको छ।
- ४९९ रुपैयाँको प्याकेज: दैनिक ५ जीबी उच्च गतिको डाटा। सीमा सकिएपछि बाँकी अवधिमा २ एमबीपीएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिने।
- ६९९ रुपैयाँको प्रिमियम प्याकेज: दैनिक १० जीबी उच्च गतिको डाटा। सीमा सकिएपछि बाँकी अवधिमा ३ एमबीपीएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिने।
२०० रुपैयाँमा एक हजार मिनेट कल
टेलिकमले भ्वाइस र सन्देश सेवामा पनि सहुलियत दिएको छ। २०० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेटको ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ।
त्यस्तै, ९९ रुपैयाँमा नेपाल टेलिकमकै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि खरिद गर्न सकिनेछ। यी दुवै मोबाइल प्याकेजको समयावधि ३० दिनको हुनेछ।
मोबाइलबाटै खरिद गर्न सकिने
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार ग्राहकले कात्तिक ३० गतेसम्म यो अफरअन्तर्गतका प्याकेज खरिद गर्न सक्नेछन्।
ग्राहकले आफ्नो मोबाइलबाट ८१४१५८११३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्नेछन्।












