कालिकोट । सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक बितिसक्दा पनि कर्णाली राजमार्गको यात्रा सहज हुन सकेको छैन। साँघुरो र भिरालो सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कर्णालीवासीले वर्षौंदेखि झेल्दै आएका छन्। त्यसमाथि वर्षायाममा खस्ने पहिरोले राजमार्गको यात्रा झनै जोखिमपूर्ण बनाउने गरेको छ।
कालिकोटको शुभकालिका गाउँपालिका–१ मा पर्ने गगने खोला क्षेत्र पहिरोका कारण लामो समयदेखि जोखिमयुक्त मानिँदै आएको छ। सामान्य वर्षामै समेत लेदोसहितको पहिरो खस्ने यस क्षेत्रमा पहिरो रोक्न ग्याबिन जाली लगाउनेदेखि पानी निकासको व्यवस्था गर्नेसम्मका प्रयास भए पनि समस्या समाधान हुन सकेको छैन।
पहिरो नियन्त्रणका लागि सडक डिभिजन कार्यालय जुम्लाले दुई वर्षअघि करिब ३ करोड रुपैयाँ खर्चेर ग्याबिन जाली लगाएको थियो। तर पहिरोको दबाब थेग्न नसक्दा उक्त जालीसमेत बगाएको छ।
वर्षा सुरु भएसँगै पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या वर्षौंदेखि दोहोरिँदै आए पनि यसको स्थायी समाधान हुन सकेको छैन। पछिल्लोपटक असोज ९ देखि ११ गतेसम्म परेको वर्षाका कारण गगने खोलामा तीन दिनसम्म पहिरो खसेर यातायात ठप्प भएको थियो।
बालेन सरकारसँग गाउँपालिका अध्यक्षको आग्रह
गगने खोलाको पहिरोका कारण शुभकालिका गाउँपालिकाका जनप्रतिनिधिसमेत आजित छन्। पानी परेलगत्तै जनप्रतिनिधि र सुरक्षाकर्मी सडक खुलाउन गगने खोलामा खटिनुपर्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्य बताउँछन्।
स्थानीय तहको आर्थिक क्षमताले मात्रै समस्या समाधान गर्न नसकिने भन्दै उनले पटकपटक प्रदेश र संघ सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। तर, अहिलेसम्म स्थायी समाधानका लागि पर्याप्त काम हुन नसकेको उनको भनाइ छ।
अध्यक्ष आचार्यले आवश्यक बजेट र प्राविधिक अध्ययनसहित गगने खोलाको समस्या समाधान गर्न संघ सरकारसँग आग्रह गरेका छन्।
‘बिरामीको उपचार डाक्टरले गर्छ। क्रिटिकल पोइन्टमा अर्थ र भौतिक मन्त्रालयले यति बजेट भए यो समस्या समाधान हुन्छ भनेर त्यो एकैपटक छुट्याउनुपर्यो,’ उनले भने, ‘म संघ सरकार (बालेन सरकार)लाई भन्न चाहन्छु– हाम्रो पीडा बुझिदिनुपर्यो। हामी एक्लैले सक्दैनौँ।’
पहिरोका कारण कर्णालीमा उत्पादन हुने स्याउ र जडीबुटी बजारसम्म पुर्याउनसमेत समस्या हुने गरेको उनले बताए। उनका अनुसार स्याउ बोकेका गाडी पाँच–सात दिनसम्म बाटोमै रोकिने अवस्था आउँदा ठूलो आर्थिक क्षति हुने गरेको छ।
गगने खोला आसपास पहिरोको जोखिमका कारण १९ घरपरिवार विस्थापित भइसकेको र शुभकालिका–१ लाई विपद्ग्रस्त क्षेत्र घोषणा गरिएको अध्यक्ष आचार्यले बताए।
सडकको रेखांकन नै परिवर्तन गर्नुपर्ने माग
सुर्खेत र जुम्लालाई जोड्ने सडकको ट्रयाक निर्माण २०४९/५० सालतिर सुरु भएको थियो। कडा चट्टानी पहाड फोर्दै निर्माण गरिएको ट्रयाक २०६३ सालको अन्त्यतिर जुम्लासम्म जोडिएको थियो।
राजमार्ग निर्माणका क्रममा नै गगने खोलाको जोखिम पहिचान गरी सडकको रेखांकन परिवर्तन गर्न प्रस्ताव गरिएको अध्यक्ष आचार्यको भनाइ छ। तर, रेखांकन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकाले स्थान परिवर्तन गर्न कठिन हुने जवाफ आएको उनले बताए।
उनका अनुसार अहिले पनि गगने खोलाको पहिरोबाट बच्ने गरी कर्णाली राजमार्गलाई वैकल्पिक स्थानबाट अघि बढाउनु नै दीर्घकालीन समाधान हुन सक्छ।
स्थायी समाधान नहुँदा वर्षायाममा पहिरोका कारण यातायात अवरुद्ध हुने, स्थानीय उत्पादन बाटोमै बिग्रिने तथा कर्णाली जाने स्वदेशी–विदेशी पर्यटक र यात्रुले बीच बाटोमै अलपत्र पर्नुपर्ने समस्या दोहोरिँदै आएको छ।







