काठमाडौं । अस्ट्रेलियामा आयोजित टप एन्ड टी–२० सिरिजबाट नेपालका बाढी प्रभावित बालबालिकाका लागि ४ हजार २६९ अमेरिकी डलर सहयोग जुटाइएको छ।
सिरिजका क्रममा संकलन गरिएको उक्त रकम युनिसेफ अस्ट्रेलियालाई हस्तान्तरण गरिने जनाइएको छ। युनिसेफ अस्ट्रेलियामार्फत रकम नेपालमा आकस्मिक बाढीबाट प्रभावित बालबालिकाको सहयोग मा खर्च गरिनेछ।
उक्त रकम प्रभावित बालबालिकालाई जीवनरक्षक स्वास्थ्य सेवा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन प्रयोग गरिने जनाइएको छ।
सहयोग अभियानमा साथ दिने नेपाली समुदाय, चिठ्ठा कार्यक्रम सञ्चालनमा सहयोग गर्ने स्टडी एनटीका राजदूत तथा टिकट खरिद गर्ने, चिठ्ठामा सहभागी हुने र प्रत्यक्ष सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद दिएको छ।
नेपाल ए क्रिकेट टोली पनि अस्ट्रेलियामा आयोजित टप एन्ड टी–२० सिरिजमा सहभागी भएको थियो। सिरिज सञ्चालन भइरहेका बेला नेपालका रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विनाशकारी बाढी आएको थियो।
बाढीपछि क्रिकेट अस्ट्रेलियाले नेपालका प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै युनिसेफ अस्ट्रेलियाको नेपाल आपत्कालीन राहत अभियानमा सहयोग गर्न अपिल गरेको थियो।







