काठमाडौं । होटल संघ नेपालले आतिथ्य दिवसको अवसर पारेर आगामी जनवरी १६ र १७ अर्थात् २०८३ माघ २ र ३ गते दुईदिने ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने भएको छ।नेपालको होटल तथा आतिथ्य उद्योगको अवस्था, योगदान, सम्भावना र चुनौतीबारे राष्ट्रियस्तरमा बहस गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको संघले जनाएको छ।
एक्स्पोमा होटल तथा आतिथ्य क्षेत्रमा आवश्यक वस्तु तथा सेवाका उत्पादक तथा आपूर्तिकर्ताका स्टल राखिनेछन्। होटल उद्योगले अर्थतन्त्र, पर्यटन, रोजगारी तथा राजस्वमा पुर्याएको योगदानका साथै उद्योगले भोगिरहेका चुनौती र आवश्यक नीतिगत सुधारबारे समेत छलफल गरिनेछ।
एक्स्पोकै अवसरमा सन् २०२२ मा स्थापना भएको होटल संघ नेपालको हिरक जयन्ती समारोहको औपचारिक समापन गरिनेछ। संघले होटल तथा आतिथ्य क्षेत्रको अवस्था र सम्भावना समेटिएको ‘होटल एयर बुक २०२७’ समेत प्रकाशन गर्ने जनाएको छ।
आरोग्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल हेरिटेज वेलनेस कुकबुक २०२७’ प्रकाशन गर्ने तयारीसमेत गरिएको छ। पुस्तकमा १०८ प्रकारका जैविक तथा आरोग्यमूलक परम्परागत नेपाली परिकार समेटिने संघले जनाएको छ।
त्यस्तै, नेपाली मौलिक खाद्य पदार्थ गुन्द्रुकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन र ब्रान्डिङका लागि होटल तथा रेस्टुरेन्टका मेनुमा यसको प्रयोग विस्तार गर्ने कार्यक्रम पनि एक्स्पोमा अघि बढाइनेछ।संघका अनुसार एक्स्पोले होटल उद्योगमा लगानी, प्रविधि हस्तान्तरण तथा बजार विस्तारका साथै सरकार र निजी क्षेत्रबीच सहकार्यका लागि अवसर सिर्जना गर्नेछ।कार्यक्रमको व्यवस्थापन तथा समन्वय इभेन्ट सोलुसन प्रालिले गर्ने संघले जनाएको छ।







