काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम तीव्र पारिएको छ। प्रतियोगिता अक्टोबर २६ देखि सुरु हुँदैछ।
नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक विगतका संस्करणमा देखिएका व्यवस्थापनका कमजोरी सुधार गर्दै दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनाका लागि सहज वातावरण तयार गर्ने तयारी गरेको छ। क्यानका अनुसार दर्शकको प्रवेश, पार्किङ, सुरक्षा तथा अन्य व्यवस्थापनमा विशेष ध्यान दिइएको छ।
यसअघि कीर्तिपुर मैदानको पिचमा समेत सुधारको काम अघि बढाइएको थियो। क्यानले एनपिएलसँगै आगामी यू–१९ महिला विश्वकपलाई लक्षित गर्दै मैदानका खेल सतह तथा अन्य पूर्वाधार सुधार गरिरहेको छ।
एनपिएलका खेलमा दर्शकको चाप उच्च हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता र सुविधा बढाउने तयारी गरिएको छ। मैदानमा प्यारापिट, विश्रामस्थल तथा भीआईपी संरचना निर्माणको कामसमेत अघि बढाइएको क्यानले जनाएको छ।
गत संस्करणमा दर्शकले शौचालयको अपर्याप्त सुविधा तथा आवतजावतका क्रममा धुलोको समस्या भोग्नुपरेको थियो। यसपटक त्यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका काम अघि बढाइएको छ। पार्किङ र मोटरसाइकल स्ट्यान्डलाई समेत व्यवस्थित गर्ने तयारी भइरहेको क्यानले जनाएको छ।
तेस्रो संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। एनपिएलको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् भने प्रतियोगिताको फाइनल नोभेम्बर २१ मा हुनेछ।












