काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका अनुसार विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जनको साइत रहेको छ । टीका लगाउँदा टीका लगाइदिने र लगाइमाग्ने दुवै जना पश्चिम मोहडा फर्किनुपर्ने जनाइएको छ ।
यस वर्ष असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ । घटस्थापनाको शुभसाइत बिहान ११:४७ बजे रहेको छ । उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।
असोज २६ गते सोमबार बिहान १०:०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ । झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने जनाइएको छ ।
असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ । असोज ३१ गते शनिबार फूलपाती परेको छ । सो दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७:३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०:३९ बजे रहेको छ ।
कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि र कार्तिक ३ गते मंगलबार महानवमी मनाइनेछ ।
कार्तिक ४ गते बुधबार विजया दशमी, देवी विसर्जन तथा टीका लगाउने दिन रहेको छ । सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०:५१ बजे र स्थिरासनको शुभसाइत दिवा ११:५२ बजे रहेको छ । खड्गयात्रा पनि सोही दिन हुनेछ ।
कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिनेछ ।







