काठमाडौं, नेपालीहरूको महान् चाड दशैं भोलिबाट औपचारिक रूपमा सुरु हुँदैछ । दशैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ, जसलाई देवी दुर्गाको पूजा–आराधना र दसैंको मुख्य विधिको आरम्भ मानिन्छ । घटस्थापनाका दिन देवी दुर्गाको पूजा गरी जमरा राख्ने प्रचलन छ । यसका लागि मकै, जौ, माटो तथा अन्य आवश्यक सामग्रीको विशेष माग हुने गर्दछ ।

काठमाडौंको मारु गणेश क्षेत्रमा यतिबेला माटो, मकै, जौ लगायतका सर्दाम बिक्री सुरु भएको छ । राजधानीका विभिन्न टोलमा चाड नजिकिँदै जाँदा पूजासम्बन्धी सामग्री खरिद गर्न मानिसहरूको भीड बढेको देखिन्छ । व्यापारीहरूले माग अनुसार पर्याप्त मात्रामा सामग्री ल्याइएको बताउँदै यो वर्ष बिक्रीमा केही वृद्धि हुने अपेक्षा गरेका छन् ।

ADVERTISEMENT

घटस्थापनाका दिन बिहानै पूजा गरी घरको पवित्र स्थान वा देवालयमा घटस्थापना गरिन्छ । माटोको वेदी बनाएर त्यसमा जौ तथा मकै छर्ने गरिन्छ । यसको उपजलाई दशैंभर दुर्गा भवानीको प्रतीकका रूपमा राखिन्छ । नौ दिनसम्म विशेष पूजा गरी दशमीका दिन दुर्गा भवानीलाई प्रसन्न पारी आशिष लिने परम्परा छ ।

दशैंमा दुर्गा भवानीको प्रसाद स्वरूप ठूलाबडाको हातबाट टीका र जमरा ग्रहण गर्ने प्रचलन छ । यस अवसरमा घर–घरमा आफन्तबीच भेटघाट, मेलमिलाप र आशिर्वाद आदान–प्रदान गर्ने गरिन्छ । खासगरी टाढा बस्ने परिवारका सदस्यहरू पनि दशैं मनाउन आफ्नो घर फर्किने परम्परा रहिआएको छ ।

ADVERTISEMENT

धार्मिक आस्थासँगै दशैंले सामाजिक एकता र पारिवारिक सुमधुर सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ । भोलिदेखि सुरु हुने घटस्थापनासँगै देशभर उत्सवमय माहोल छाउने अनुमान गरिएको छ ।