काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुँदैछ। उम्मेदवारका लागि बिहानदेखि राष्ट्रिय सभागृहमा मनोनयन फाराम वितरण भइरहेको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार अहिले उम्मेदवारलाई फाराम वितरण भइरहेको छ भने दिउँसो १ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुनेछ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि देशभरबाट आएका ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी फाराम वितरण तथा उम्मेदवारी दर्ताको व्यवस्था गरेको छ।
महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ। उम्मेदवारी दिनेले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई तोकिएको शुल्क बुझाएर रसिद लिएपछि उम्मेदवारी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ। सोमबार पारित संशोधित विधानअनुसार पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्याइएको छ।
नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएका छन्। उपसभापतिको संख्या चार पुगेको छ भने महामन्त्रीको संख्या तीन पुर्याइएको छ। त्यसमध्ये एक महिला महामन्त्री अनिवार्य गरिएको छ।
त्यस्तै, दुई खुला सहमहामन्त्री थपिएसँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ। पार्टीले प्रवक्ता पद पनि थप गरेको छ भने आवश्यकताअनुसार सहप्रवक्ताको संख्या थप गर्न सकिने जनाएको छ।यसअघि १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो भने पदाधिकारीको संख्या १४ थियो।







