चितवन, असोज १९ । चितवनको कालिका नगरपालिका–५ स्थित खगेरी खोला किनारमा थारू समुदायका महिलाले स्नान, सूर्यपूजा, अर्घ्य अर्पण र ‘जाकुरी’ पूजासँगै जितिया पर्वको विधिवत् समापन गरेका छन्। सन्तानको सुस्वास्थ्य, दीर्घायु र उन्नतिको कामनासहित तीन दिनसम्म मनाइने जितिया पर्वको अन्तिम दिन सोमबार बिहानै व्रतालु महिलाहरू खगेरी खोलामा भेला भएका थिए। सप्तमीका दिन ‘दर’ अर्थात् डटकट खाएपछि अष्टमीमा दिनभरि कठोर व्रत बसेका महिलाले अन्तिम दिन बिहान पवित्र स्नान गरेका थिए। स्नानपछि उनीहरूले सूर्यदेवको आराधना गर्दै जल तथा अर्घ्य अर्पण गरेका थिए। व्रतालु महिलाले अघिल्लो दिन विष्णु भगवान्का रूपमा स्थापना गरिएको जितबाहन तथा पिपलको हाँगामा बनाइएको चिल र स्याल अर्थात् ‘चिलो–सिएरो’ को आकृति खोलामा विसर्जन गरेका थिए।

कालिका–५ की निरु चौधरीले जितियाको अन्तिम दिन सूर्य भगवान्को पूजा गर्न खोलामा आएर स्नान तथा पूजाआजा गरेको बताइन्। जितबाहन विसर्जनपछि महिलाले खोलाको चोखो माटो मुछेर ‘गौरगाङ्ग’ अर्थात् साना बालबालिकाको आकृति बनाएका थिए। थारू समुदायमा जितिया पर्व सन्तानको सुस्वास्थ्य, दीर्घायु र उन्नतिका लागि मनाइने भएकाले गौरगाङ्गलाई भावी सन्तानको प्रतीक मानेर पूजा गर्ने परम्परा छ। माटोबाट बनाइएको गौरगाङ्गलाई सिन्दूर र काजल लगाएर पूजा गरियो। त्यसपछि अघिल्ला दिनमा उमारेर राखिएको मासको दाल अर्थात् ‘जाकुरी’ र अघिल्लो दिन टिपिएको चोखो बेलपत्रले ढाकेर पूजाअर्चना गरिएको थियो।

ADVERTISEMENT

जितिया पर्वमा जाकुरीको विशेष धार्मिक महत्त्व रहेको थारू समुदायमा विश्वास गरिन्छ। इमानदार र पवित्र मनले निर्जला व्रत बसेमा जाकुरी राम्रोसँग उम्रिने र देखावटी रूपमा व्रत बस्दा राम्रोसँग नउम्रिने जनविश्वास छ। यसले शुद्ध हृदयले भक्ति गर्नुपर्ने सन्देश दिने विश्वास गरिन्छ।

ADVERTISEMENT

सूर्यदेवको पूजा, जितबाहन विसर्जन र जाकुरी अर्पण गरेपछि व्रतालु महिलाले पुनः खोलामा स्नान गरेका थिए। त्यसपछि अघिल्लो रात जितबाहनको कथा सुन्दा राखिएका पवित्र सामग्री र प्रसाद मिसाएर भुटी ग्रहण गर्दै उनीहरूले व्रतको पारण अर्थात् कठोर व्रतको विधिवत् समापन गरेका छन्।