काठमाडौं । भोलिदेखि फेरि मौसमी प्रणाली सक्रिय हुने भएको छ।

माथिल्लो वायुमण्डलीय प्रभावका कारण आगामी एक साता वा त्यसभन्दा केही बढी समयसम्म देशका विभिन्न भूभागमा वर्षाको क्रम जारी रहने मौसमविद् विनोद पोखरेलले बताएका छन्।

ADVERTISEMENT

मौसमविद् पोखरेलका अनुसार वर्षा देशभर एकैपटक वा दिनभर लगातार हुने छैन। मुख्यतः अपराह्नपछि वर्षा सुरु भएर साँझसम्म सक्रिय रहने सम्भावना बढी रहेको उनले बताएका छन्।

ADVERTISEMENT

आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। भोलि आइतबारदेखि मौसमी प्रणाली थप सक्रिय हुँदै सोमबार र मंगलबार देशका अधिकांश भूभागमा वर्षाको प्रभाव फैलिने देखिएको छ।

सोमबार र मंगलबार केही स्थानमा छोटो समयका लागि भारी वर्षासमेत हुन सक्ने प्रक्षेपण गरिएको छ। वर्षा सामान्यतया हल्कादेखि मध्यम हुने भए पनि स्थानीय रूपमा केही समय भारी वर्षा हुन सक्ने मौसमविद् पोखरेलले बताएका छन्। त्यसपछि बुधबारदेखि वर्षा केही कम हुने र बिहीबार पहाडी भेगका केही स्थानमा पुनः हल्का वर्षा हुन सक्ने संकेत देखिएको छ।

ADVERTISEMENT

यसैबीच, आज देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।