काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवार तथा आकांक्षीले प्रचारप्रसार गर्दा कडा आचारसंहिता पालना गर्नुपर्ने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले विपद्पछिको परिस्थिति र वातावरणीय पक्षलाई ध्यानमा राख्दै प्रचारप्रसारमा थप कडाइ गरेको हो ।समितिका अनुसार महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन तडकभडक तथा भड्किलो प्रचारप्रसार पूर्ण रूपमा निषेध गरिएको छ ।

ADVERTISEMENT

महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायतका कुनै पनि छापिएका प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पाइने छैन । सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा समेत भौतिक प्रचार सामग्री प्रदर्शन गर्न रोक लगाइएको छ ।

ADVERTISEMENT

उम्मेदवारले आफ्ना एजेन्डा तथा उम्मेदवारीसम्बन्धी विवरण डिजिटल माध्यमबाट मात्रै प्रचार गर्न पाउनेछन् । सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट प्रचारप्रसार गर्न अनुमति दिइएको छ ।

भोटेकोशीलगायत देशका विभिन्न भूभागमा प्राकृतिक विपद्का कारण जनधनको क्षति भएको र देश शोक तथा पुनरोत्थानको अवस्थामा रहेका बेला महाधिवेशन हुन लागेको भन्दै निर्वाचन समितिले आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।

ADVERTISEMENT

आचारसंहिता उल्लङ्घन गरेमा नियमानुसार कारबाही हुने समितिले जनाएको छ । समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा १५औँ महाधिवेशनलाई अनुशासित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न नेता, कार्यकर्ता, उम्मेदवार तथा शुभेच्छुकलाई आग्रह गरिएको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका छ ।