बागलुङ, १५ असोज । बागलुङ बजारमा खानेपानीको हाहाकार भएपछि नगरपालिकाले दमकल र ट्याङ्करमार्फत पानी वितरण थालेको छ। गत असोज ८ गतेको पहिरोले मुख्य खानेपानीको पाइपलाइनमा क्षति पुर्‍याएपछि बजारमा पाँच दिनदेखि खानेपानी आपूर्ति प्रभावित भएको हो।

खानेपानी अभाव भएपछि नगरपालिकाले बिहीबार बिहानैदेखि दमकल र ट्याङ्करमार्फत बजारवासीलाई पानी वितरण थालेको हो। पानीको अभावका कारण करिब ४ हजार ५ सय उपभोक्ता प्रभावित भएका छन्।

ADVERTISEMENT

बागलुङ नगरपालिका–३ हनुमानमौवा छेउमा पहिरोले मुख्य खानेपानीको पाइपमा क्षति पुर्‍याएको छ। काठेखोलाबाट लिफ्टिङमार्फत ल्याइएको पानी कैलामपोखरी, सुल्डाँडा र मुश्यास्वाराको ट्याङ्कीमा पुर्‍याइन्छ। सोही प्रणालीअन्तर्गतको मुख्य पाइपमा पहिरोले क्षति पुर्‍याएपछि आपूर्ति रोकिएको हो।

ADVERTISEMENT

बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका अनुसार तित्याङ र भकुण्डेको सीमाबाट आउने रिठेखोलाको मुहान तथा काठेखोला गाउँपालिकास्थित भुँदीखोलाको मुहानबाट बजारतर्फ ल्याइएको पाइपलाइनमा समेत बाढीले क्षति पुर्‍याएको छ।

बागलुङ बजारमा पानी आपूर्ति गर्ने मुख्य चारवटा मुहानमा वर्षा र बाढीले ठूलो क्षति पुर्‍याएको संस्थाले जनाएको छ। ठाउँ–ठाउँमा पाइप बगेका छन् भने कतिपय स्थानमा पाइपलाइन मर्मत गर्नुपर्ने अवस्था छ।

ADVERTISEMENT

रिठेखोलामा जडान गरिएको मात्रै करिब ८० मिटर पाइप बाढीले बगाएको छ।मुख्य पाइपलाइनमा क्षति पुगेपछि नियमित आपूर्ति तत्काल सञ्चालन गर्न कठिन भएपछि नगरपालिकाले वैकल्पिक रूपमा दमकल र ट्याङ्करबाट पानी वितरण गरिरहेको छ।नगरपालिकाका अनुसार पाइपलाइन मर्मत तथा पुनःस्थापनाको काम अघि बढाएर नियमित खानेपानी आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ।