काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनमा उम्मेदवारी मनोनयन प्रक्रिया सुरु गर्ने तयारी भइरहेका बेला कार्यकर्ताबीच झडप भएको छ।
सुन्दरहरैंचास्थित सिग्देल प्रतिष्ठानको गेटमा भएको झडपमा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तवदार, चेतराज रेग्मीलगायत नेता–कार्यकर्ता घाइते भएका कांग्रेस नेताहरूले बताएका छन्। घटनापछि क्षेत्रीय अधिवेशनको मनोनयन प्रक्रिया प्रभावित भएको छ।
कांग्रेस सहमहामन्त्री डिला संग्रौलाका अनुसार क्षेत्रीय सभापति देवराज तामाङले निर्वाचन समितिलाई पत्र पठाएर बिहान ११ बजेदेखि निर्वाचन प्रक्रिया सुरु गर्न आग्रह गरेका थिए। सोहीअनुसार प्रक्रिया अघि बढाउने तयारी थियो। तामाङले संग्रौलालाई प्रमुख अतिथिका रूपमा कार्यक्रम उद्घाटनका लागि समेत बोलाएका थिए।
तर, आफू कार्यक्रमस्थल पुग्ने क्रममा केही व्यक्ति फलामका रडसहित आएको र त्यसपछि विवाद तथा आक्रमण भएको संग्रौलाको आरोप छ। उनका अनुसार चुमनारायण तवदारलाई पहिले गाडीभित्रै कुटपिट गरिएको र पछि गाडीबाट निकालेर भाटाले समेत हानिएको थियो। चेतराज रेग्मी लगायत अन्य कार्यकर्तामाथि पनि आक्रमण भएको उनले बताइन्।
संग्रौलाका अनुसार घटनामा करिब ५–६ जना घाइते भएका छन्। उनले घटनालाई १५औँ महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्तामाथिको नियोजित आक्रमण भन्दै संलग्नमाथि छानबिन र कारबाहीको माग गरेकी छन्। उनले घटनामा क्षेत्रीय सभापति देवराज तामाङको भूमिकासमेत छानबिन हुनुपर्ने बताएकी छन्।
तामाङ भन्छन्– आरोप पुष्टि गर्नुपर्छ
क्षेत्रीय सभापति तामाङले भने आफूले कसैलाई आक्रमण गर्न निर्देशन नदिएको बताएका छन्। उनले कार्यक्रम बिहान ९ बजेका लागि तय गरिएको र सहमहामन्त्री संग्रौला प्रमुख अतिथिका रूपमा आउने कार्यक्रम रहेको बताए। उनका अनुसार संग्रौला केही ढिला कार्यक्रमस्थल पुगेकी थिइन्। कार्यक्रम सुरु गर्ने तयारी भइरहेका बेला केही कार्यकर्ताले क्रियाशील सदस्यता वितरणको विषय उठाएपछि विवाद सुरु भएको उनको भनाइ छ।
‘क्रियाशील सदस्यता बाँड्दा क्षेत्रीय सभापतिको अधिकार खोसियो, वडा सभापति र क्षेत्रीय सभापतिको अधिकार मिचेर मनपरी क्रियाशील बाँडियो भनेर साथीहरूले कुरा उठाउनुभयो,’ तामाङले भने, ‘त्यही विषयमा कुरा भइरहेका बेला कार्यक्रम सुरु हुनुअघि नै टेबल पल्टाउनेलगायतका घटना भए र झगडा भयो।’
संग्रौलाले आफूलाई नियोजित रूपमा आक्रमण गराइएको आरोप लगाएको विषयमा तामाङले त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन्। ‘उहाँले आरोप लगाउनुभएको छ भने पुष्टि गर्नुपर्यो। आरोप त म पनि उहाँमाथि लगाउन सक्छु,’ तामाङले भने। उनले आफू कार्यक्रम सञ्चालनको तयारीमा रहेको र झडप कसरी सुरु भयो भन्ने विषय आफूले पनि बुझिरहेको बताए।
क्रियाशील सदस्यतादेखि नै विवाद
मोरङ क्षेत्र नम्बर ६ को कांग्रेस अधिवेशन प्रक्रिया यसअघि नै विवादमा परेको थियो। अन्य क्षेत्रमा वडा अधिवेशन सुरु भइसके पनि क्रियाशील सदस्यताको अन्तिम सूची नआएका कारण मोरङ–६ मा वडा अधिवेशनसमेत ढिला भएको थियो।
क्षेत्रीय अधिवेशन गराउने जिम्मेवारी चुमनारायण तवदारलाई दिइएको थियो। क्षेत्रीय सभापति तामाङ र तवदारबीच संगठन सञ्चालन तथा अधिवेशन प्रक्रियालाई लिएर मतभेद रहँदै आएको कांग्रेस नेताहरू बताउँछन्।
यसपटक क्षेत्रीय सभापतिमा तवदार र बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर प्रमुख दाबेदारका रूपमा देखिएका छन्। तवदारले केही दिनअघि क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए।







