काठमाडौँ । बागलुङमा पछिल्लो तीन दिनयता गएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ।
पहिरोले घर पुरिँदा तथा बगाउँदा एक जना अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका रहेका छन्। पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन्।
यससँगै पछिल्लो तीन दिनमा बागलुङमा अविरल वर्षापछि आएको विपद्मा परी मृत्यु हुनेको संख्या १२ पुगेको जिल्ला प्रहरीले जनाएको छ।
गत शनिबार ताराखोला गाउँपालिकामै एक जनाको मृत्यु भएको थियो। त्यसैगरी आइतबार तमानखोला गाउँपालिकामा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए।
निसीखोला गाउँपालिकामा पनि पहिरोमा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी तथा स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेका छन्।








