काठमाडौं । सरकारले नवजात शिशु तथा बालबालिकाको पोषण सुरक्षा थप सुदृढ बनाउने उद्देश्यले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन, २०४९’ संशोधन प्रक्रिया अघि बढाएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सम्बन्धित विधेयक प्रस्तुत गर्दै संघीय संरचना र वर्तमान आवश्यकताअनुसार विद्यमान कानून परिमार्जन गर्न आवश्यक रहेको बताइन् ।

ADVERTISEMENT

सरकारले समयसापेक्ष सुधारमार्फत बाल पोषणलाई थप सुरक्षित बनाउने उद्देश्यले उक्त विधेयकलाई चालु आर्थिक वर्षको प्राथमिकतामा राखेको जनाएको छ । मन्त्री मेहताले विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा यसको आवश्यकता र महत्वबारे जानकारी गराइन् ।

ADVERTISEMENT

प्रस्तावित संशोधनमा स्वास्थ्यकर्मीको भूमिका, बच्चाको उमेर, पूरक पदार्थको वैज्ञानिक परिभाषा तथा आमाको दूध संकलन र व्यवस्थापन सम्बन्धी नयाँ प्रावधान समेटिएको छ ।

त्यस्तै, नेपाल सरकारको कार्यविभाजन नियमावली, २०८३ अनुसार मन्त्रालयको नाम तथा समितिका पदाधिकारीको संरचनामा आवश्यक परिवर्तन गर्ने प्रस्ताव गरिएको छ ।

ADVERTISEMENT

संघीय संरचनाअनुसार प्रदेश र स्थानीय तहको भूमिका समेत कानूनमै स्पष्ट पार्ने गरी विधेयक तयार गरिएको मन्त्री मेहताले बताइन् ।

उनका अनुसार विद्यमान कानूनलाई आधुनिक आवश्यकतासँग जोड्दै बाल पोषणमा आमाको दूधको महत्वलाई स्थापित गर्नु संशोधनको प्रमुख उद्देश्य हो ।

दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरणमा देखिएका बेथिति नियन्त्रण गर्न कसूर तथा सजायसम्बन्धी व्यवस्थालाई थप कडा बनाउने प्रस्तावसमेत विधेयकमा गरिएको छ ।

मन्त्री मेहताले विधेयकमाथिको दफावार छलफलका क्रममा सांसदहरूबाट प्राप्त सुझाव र सल्लाहलाई समेट्दै विधेयकलाई थप परिष्कृत गरिने बताइन् ।