काठमाडौं । व्यवसायी अमित मोरलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा पुर्पक्षका लागि कारागार चलान भएका मोरलाई सोमबार न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सर्वोच्चले विशेष अदालतले २०८२ भदौ १८ गते गरेको मोरलाई थुनामा पठाउने आदेश बदर गरेको छ । अन्य प्रतिवादीको हकमा विशेष अदालत तथा सर्वोच्च अदालतबाट समेत धरौटी लिएर रिहा गर्ने आदेश भइसकेकाले मोरलाई मात्रै थुनामा राख्नु उचित नहुने सर्वोच्चको ठहर छ ।
अब मोरले एक करोड रुपैयाँ धरौटी बुझाएपछि रिहा हुन सक्नेछन् । धरौटी नबुझाए भने उनी कारागारमै रहनेछन् । मोर हाल डिल्लीबजार कारागारमा छन् ।
मोरलाई पुर्पक्षका लागि थुनामा पठाउने विषयमा विशेष अदालतका न्यायाधीशबीच पनि मत बाझिएको थियो । तीन न्यायाधीशमध्ये दुई जनाले थुनामा पठाउने र एक जनाले एक करोड रुपैयाँ धरौटी लिएर रिहा गर्नुपर्ने राय दिएका थिए । बहुमतको आदेश कार्यान्वयन भएपछि मोर कारागार चलान भएका थिए ।
मोर हिमालय रि–इन्स्योरेन्स कम्पनीका सञ्चालक सदस्य हुन् । कम्पनीले धितोपत्र बजारमा शेयर खरिद–बिक्रीका लागि भृकुटी स्टक (ब्रोकर नम्बर ५५) मार्फत लगानी गर्ने निर्णयलाई मोरसहितको समितिले अनुमोदन गरेको थियो ।
यस मुद्दामा कम्पनीका अध्यक्ष शेखर गोल्छा, शुभेच्छा खरेल, राजिव मोरलगायतलाई धरौटीमा रिहा गरिएको थियो । रोहित गुप्तालाई थुनामा पठाइएकोमा सर्वोच्च अदालतले गत भदौ १७ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि विभिन्न कसूरमा मुद्दा दायर गरेका छन् ।








