स्याङ्जा । स्याङ्जाको बेल्टारीस्थित १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सुरु गर्ने भएको छ।
चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि जोखिम न्यूनीकरणका लागि आयोजनाले विद्युत् उत्पादन बन्द गरेको थियो। अहिले नदीको बहाव घट्दै गएपछि उत्पादन पुनः सञ्चालन गर्न लागिएको हो।
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार नदीमा पानीको बहाव उच्च हुँदा आयोजनामा जोखिम हुन सक्ने भएकाले उत्पादन रोकिएको थियो। अहिले नदीको सतह घट्दै गएपछि सुरुङभित्र जमेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर उत्पादन सुरु गर्न लागिएको उनले बताए।
प्राविधिक टोलीले बाढीपछिको अवस्थाको निरीक्षण गरिसकेको र उत्पादन सुरु गर्न सकिने अवस्था रहेको पौडेलले जानकारी दिए।कालीगण्डकी नदीमा बाढी आएपछि आयोजनाले मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा छाडेको थियो।
लगातारको वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीबेणी बजारसमेत डुबानमा परेको छ। बजारका २६ घरका बासिन्दालाई नजिकैको विद्यालयमा राखिएको छ।
यस्तै, आयोजनाको बाँधस्थलभन्दा केही तल स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुलसमेत कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएको थियो।








