लखनउ । भारतको उत्तर प्रदेशमा करिब ७२ घण्टादेखि भइरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। भारी वर्षासँगै आएको बाढी, जलभराव, घर तथा रुख ढल्नेलगायतका घटनामा शनिबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ।
अविरल वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा कच्ची घर भत्किएका छन् भने रुख तथा विद्युत्का पोल ढल्दा सडक अवरुद्ध भएका छन्। विद्युत् लाइनमा क्षति पुग्दा विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति समेत प्रभावित भएको छ।
सबैभन्दा धेरै अवध क्षेत्रका जिल्लामा २६ जनाको मृत्यु भएको जनाइएको छ। सीतापुरमा ६, बहराइचमा ५, बलरामपुर र अयोध्यामा ४–४, बाराबंकीमा ३ तथा गोन्डा, अमेठी र श्रावस्तीमा पनि मानवीय क्षति भएको छ। लखीमपुर खीरीमा ६, गोरखपुरमा ५, हरदोईमा ४ र हमीरपुरमा ३ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ।
एकै दिन ३४२ मिलिमिटर वर्षा
शनिबार लखीमपुर खीरीमा ३४२ मिलिमिटर वर्षा मापन भएको थियो। सीतापुरमा २७३.२, बाँदामा २४५.६ र बहराइचमा २३९ मिलिमिटर वर्षा भएको जनाइएको छ।
बाँदा र हमीरपुरमा एकै दिनको वर्षाले यसअघिको रेकर्ड तोडेको छ। कानपुरमा १७५.४ मिलिमिटर वर्षा भएपछि त्यहाँ ४५ वर्षको वर्षा रेकर्ड तोडिएको जनाइएको छ।
वर्षाका कारण बरेलीको अधिकतम तापक्रम २१.३ डिग्री सेल्सियसमा झरेको थियो। यो सेप्टेम्बर महिनामा त्यहाँ रेकर्ड भएको न्यूनतम तापक्रममध्ये एक भएको बताइएको छ।
आइतबार पनि भारी वर्षाको चेतावनी
भारतीय मौसम विभागले आइतबार पनि उत्तर प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
मुरादाबाद, रामपुर, पीलीभीत र बरेलीमा अति भारी वर्षाका लागि ओरेन्ज अलर्ट जारी गरिएको छ। तराई क्षेत्रका थप नौ जिल्लामा भारी वर्षाका लागि येलो अलर्ट जारी गरिएको छ।
प्रदेशका २७ जिल्लामा मेघगर्जनसहित ४० देखि ६० किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। क्षेत्रीय मौसम विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक अतुल कुमार सिंहका अनुसार सोमबारदेखि भने वर्षाको गतिविधि घट्ने सम्भावना छ।
लखनउमा सडकदेखि विमानस्थलसम्म प्रभावित
लगातारको वर्षाले राजधानी लखनउका धेरै सडक जलमग्न भएका छन्। कतिपय क्षेत्रमा घुँडासम्म पानी जमेको थियो। नगर निगमका अनुसार लखनउमा मात्रै १२५ भन्दा बढी रुख ढलेका छन्।
भारी वर्षाका कारण चारबाग रेलवे स्टेसन आसपास पनि पानी जमेको थियो। रेलमार्गमा पानी आएपछि केही रेलखण्डमा रेलको गति घटाइएको थियो।
कम दृश्यताका कारण लखनउ विमानस्थलमा आउन लागेका छ वटा उडान दिल्ली तथा नोएडा डाइभर्ट गरिएका थिए। ती विमान शनिबार बिहान लखनउ फर्किएका थिए।
सीमावर्ती क्षेत्रमा सतर्कता
नेपालमा समेत भारी वर्षा भइरहेका कारण उत्तर प्रदेशका सीमावर्ती, विशेषगरी पूर्वी उत्तर प्रदेशका जिल्लामा नदीको जलस्तर बढ्न सक्ने भन्दै प्रशासनलाई सतर्क रहन निर्देशन दिइएको छ।
उत्तर प्रदेशका ६३ जिल्लामा सामान्यभन्दा बढी वर्षा भएको जनाइएको छ। पछिल्लो २४ घण्टामा प्रदेशभर सामान्यभन्दा १९ गुणा बढी वर्षा भएको विवरणमा उल्लेख छ।
सरकारका अनुसार पछिल्लो ४८ घण्टामा अतिवृष्टि र हावाहुरीका कारण ११७ वटा घरमा क्षति पुगेको छ। प्रभावित परिवारको सर्वेक्षण गरी राहत उपलब्ध गराउन तथा जोखिममा रहेका कच्ची घरका परिवारलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ।









