पोखरा ।  पोखराको मध्यभाग भएर बग्ने सेती नदीको बहाव बढेपछि रामघाट क्षेत्र जलमग्न बनेको छ।

रामघाटमा पानीको सतह बढ्दै जाँदा नदी किनारमा रहेका पोखरा-९ र पोखरा-११ का सुकुम्बासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शवदाह गृहसमेत जलमग्न भएका छन्।  सेतीमा पानीको बहाव बढेर रामघाटमा ताल बनेपछि त्यस वरपरको सुकुम्बासी बस्तीमा सुरक्षाकर्मी परिचालन गरी सतकर्ता अपनाइएको छ।

ADVERTISEMENT

प्रहरीले निरन्तर निगरानी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीले रामघाट वरपरको क्षेत्रको स्थलगत अनुगमन गरेको बरालले बताए।

ADVERTISEMENT

‘विगतमा जस्तै पानीको उच्च बहावले ताल बने पनि अहिल्यै आत्तिनुपर्ने अवस्था नभएको स्वयं स्थानीयले बताएका छन्। हामीले सुरक्षाकर्मी परिचालन गरी पूर्वसावधानी र जोखिम मूल्यांकन गरीरहेका छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी बरालले भने, ‘अहिलेको अवस्था हेर्दा आतंकित हुनेभन्दा सतर्क र सचेत बन्नु आवश्यक छ। खतरा हुने वित्तिकै नदीको वारी र पारी दुवैतर्फ रहेका बस्तीहरू सुरक्षित स्थानमा सार्छौं।’

यस्तै, अविरल वर्षाका कारण जिल्लामा केही ग्रामीण सडक भने अवरुद्ध भएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्याउली बजारमा मोदी खोलाले सडक कटान गर्दा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध भएको छ।

ADVERTISEMENT

मोदी खोलाले शुक्रबार साँझ स्याउली बजारमा १० मिटर सडक कटान गरेको गाउँपालिका प्रवक्ता भरतमान गुरूङले जानकारी दिए। उनका अनुसार सडक अवरुद्ध हुँदा पर्यटकीय क्षेत्र घान्द्रुकको पोखरासँगको सम्पर्कविच्छेद छ।