काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा गरेको सम्बोधनको प्रशंसा गरेका छन्।

प्रधानमन्त्री शाहले शुक्रबार नेपाली समयअनुसार बिहान ५:४५ बजे संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरेका थिए। सम्बोधनपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थक नभए पनि प्रधानमन्त्री शाहले राष्ट्रसङ्घमा देशको भावना बोलेको भन्दै समर्थन गरेको बताएका छन्। उनले शाहको सम्बोधनलाई ‘दृढ, सार्थक र जोडदार’ भएको बताएका छन्।

ADVERTISEMENT

प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा नेपालले भोगिरहेको जलवायु संकट, हालैको बाढीपहिरोबाट भएको क्षति, जलवायु न्याय र अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता उठाएका थिए। उनले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायुजन्य विपद्को ठूलो असर भोगिरहेको बताएका थिए।

ADVERTISEMENT

सम्बोधनको सुरुमै शाहले हिमालयबाट मानवजातिका लागि गम्भीर चेतावनी लिएर आएको भन्दै नेपालमा भएको ठूलो मृत्यु र विनाशबारे विश्व समुदायलाई जानकारी गराएका थिए। उनले विपद्का कारण आफन्त गुमाएका परिवार र बेपत्ता व्यक्तिको खोजीमा रहेका समुदायको अवस्थाबारे पनि उल्लेख गरेका थिए।

शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलेन्स मेकानिजम’ स्थापना गर्न प्रस्ताव गर्नुका साथै जलवायु विपद् सामना गर्न राहत, पुनर्स्थापना, पुनर्निर्माण, जिम्मेवारी, क्षतिपूर्ति/पुनर्भरण र पुनरुत्थानशीलतामा जोड दिएका थिए।

ADVERTISEMENT