काठमाडौं । सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाउँदै अधिक सञ्चय तथा भण्डारण नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको जनाएको हो।
मन्त्रालयका अनुसार बाढी, पहिरो वा अन्य कारणले प्रमुख राजमार्ग तथा आपूर्ति मार्ग अवरुद्ध भएमा वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानीलाई निरन्तरता दिइनेछ।
विपद् र चाडपर्वको मौका छोपी कार्टेलिङ, सिन्डिकेट, कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि तथा वस्तु लुकाउने प्रवृत्ति रोक्न बजार अनुगमनलाई सघन बनाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा उपभोक्तालाई आवश्यकता अनुसार मात्रै वस्तु खरिद तथा सञ्चय गर्न आग्रह गरिएको छ।








