काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई भोलि बिहान ५ बजे सम्बोधन गर्ने भएका छन्।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा हुने महासभाको उच्चस्तरीय सत्रलाई प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान ठीक ५ बजे सम्बोधन गर्ने कार्यतालिका तय भएको हो।

ADVERTISEMENT

विश्वकै कान्छा बहालवाला सरकार प्रमुखका रूपमा महासभामा सहभागी भएका शाहको यो पहिलो अन्तर्राष्ट्रिय उच्चस्तरीय सम्बोधनलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा समेत चासोका साथ हेरिएको छ।

ADVERTISEMENT

जलवायु न्याय मुख्य एजेन्डा

प्रधानमन्त्री शाहले महासभामा नेपालको तर्फबाट जलवायु न्याय (Climate Justice) को विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन्।

नेपालजस्ता हिमाली तथा कम कार्बन उत्सर्जन गर्ने मुलुकले जलवायु परिवर्तनका कारण भोगिरहेका बाढी, पहिरो, हिमनदी पग्लिने तथा अन्य प्राकृतिक विपद्का जोखिमबारे उनले विश्व समुदायको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

जलवायु परिवर्तनमा न्यून योगदान गरेका विकासशील तथा हिमाली देशले यसको असर भने गम्भीर रूपमा भोगिरहेकाले प्रभावित मुलुकलाई अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति र जलवायु न्याय सुनिश्चित गर्नुपर्ने नेपालको धारणा प्रधानमन्त्री शाहले राख्नेछन्।

प्रधानमन्त्री शाहले नेपालका प्राथमिकता तथा समसामयिक विश्व मुद्दाबारे समेत महासभामा आफ्नो धारणा राख्नेछन्।

अब भोलि बिहान ५ बजे हुने उनको सम्बोधनमा नेपालका विषय र विश्व समुदायसामु उनले कस्ता मुद्दा उठाउँछन्, त्यसलाई चासोका साथ हेरिएको छ।