काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्स्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आज जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री रिम अलाबाली राडोभानसँग भएको द्विपक्षीय ‘साइडलाइन’ भेटवार्तामा मन्त्री खनालले विपद्पछिको पुनर्निर्माणसँगै जलवायु उत्थानशील, विपद् पूर्वतयारी र क्षमता अभिवृद्धिमा थप लगानीको आवश्यकता औँल्याएका हुन् ।

ADVERTISEMENT

भेटवार्तामा मन्त्री खनालले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति जर्मन सरकार तथा जनताले व्यक्त गरेको सहानुभूति, ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरे ।

ADVERTISEMENT

“नेपालले विपद्पछिको पुनर्स्थापना, पुनर्वास र पुनर्निर्माणका कार्य अघि बढाइरहेको छ । यस क्रममा जलवायु उत्थानशील, विपद् पूर्वतयारी र क्षमता अभिवृद्धिमा थप लगानी अत्यावश्यक छ,” खनालले भने ।

मन्त्री खनालले नेपालको विकास प्रक्रियामा जर्मनीले लामो समयदेखि पुर्‍याउँदै आएको महत्त्वपूर्ण सहयोगको प्रशंसा गर्दै जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्नु विश्व समुदायको साझा जिम्मेवारी भएकामा जोड दिएका उनको सचिवालयले जनाएको छ ।

ADVERTISEMENT

सो अवसरमा जर्मनीकी मन्त्री राडोभानले नेपालमा पछिल्लो पटक उत्पन्न ‘विनाशकारी विपद्लाई विश्वव्यापी साझा चुनौती’का रूपमा लिनुपर्ने बताउँदै जर्मनी नेपाललाई वित्तीय तथा मानवीय सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको बताइन् ।

भेटवार्तामा नेपाल–जर्मनीबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान हुनुका साथै पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई आगामी दिनमा थप सुदृढ र गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।