काठमाडौं, असोज ६ गते । अन्डमान सागर आसपास विकसित भएको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने क्रममा रहेकाले नेपालमा उच्च सतर्कता अपनाइएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त प्रणालीको असर नेपालसम्म आइपुग्ने सम्भावना रहेकाले पूर्वतयारी थालिएको हो।
मौसम विज्ञान विभागले चक्रवातको सम्भावित मार्ग र प्रभावबारे विभिन्न मौसमी मोडेलमार्फत निरन्तर अनुगमन गरिरहेको विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले बताउनुभएको छ।
उहाँका अनुसार चक्रवात कहाँ र कसरी जमिनमा प्रवेश गर्छ भन्ने विषयले नेपालमा पर्ने प्रभाव निर्धारण गर्नेछ। भारततर्फ गएर पुनः नेपालतर्फ आउने वा सिधै नेपालतर्फ आउने अवस्थाअनुसार यसको प्रभाव फरक पर्न सक्ने भएकाले उच्च सतर्कताका साथ निगरानी भइरहेको छ।
विभागले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भीषण वर्षा हुने सम्भावना छ। देशका अधिकांश स्थानमा भने मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
उत्तर अन्डमान सागर तथा आसपास विकसित भएको न्यूनचापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भाग आसपास पुगेको छ। यो प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने र भारतको दक्षिण ओडिसा तथा उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिकबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ।
प्राधिकरणले देशभरका जिल्ला प्रशासन कार्यालयलाई अहिलेदेखि नै आवश्यक पूर्वतयारीसहित सतर्क रहन निर्देशन दिएको छ। सम्भावित प्रभावित क्षेत्रका स्थानीय तह, पर्यटन विभाग तथा कृषि मन्त्रालयका अधिकारीलाई समेत सम्भावित जोखिमबारे जानकारी गराई आवश्यक सावधानी अपनाउन भनिएको छ।
उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले आरोहण तथा भ्रमणका लागि पुगेका पर्यटकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। असोज ८ गतेदेखि सकेसम्म लामो यात्रा नगर्न र यात्रा गर्नुपरे मौसमको अवस्था बुझेर मात्र अघि बढ्न पनि आग्रह गरिएको छ।
सम्भावित जोखिम न्यूनीकरणका लागि विभिन्न जिल्लामा पनि तयारी सुरु गरिएको छ। धनुषामा विशेषगरी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय तहलाई भनिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले जानकारी दिनुभएको छ।






