काठमाडौं । विदेशी कम्पनीले इरानी विमान सेवासँग सहकार्य जारी राखे ‘सेकेन्डरी स्यांक्सन’ लगाउने अमेरिकाले चेतावनी दिएको छ । अमेरिकाले विश्वभर इरानी एयरलाइन्सका अन्तर्राष्ट्रिय उडान रोक्ने धम्की दिएको हो ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सेप्टेम्बर २३ देखि इरानी एयरलाइन्सहरू अन्तर्राष्ट्रिय यात्राबाट वञ्चित हुन सक्ने बताएका छन् । “सेप्टेम्बर २३ देखि विश्वभरका सबै इरानी एयरलाइन्स बन्द हुनेछन्,” बेसेन्टले सीएनबीसीसँग भने ।
उनका अनुसार, चेतावनी एयरलाइन्समा मात्र सीमित छैन । इरानी विमानलाई सेवा दिने विमानस्थल, इन्धन आपूर्तिकर्ता, टिकटिङ कम्पनीलगायत व्यवसाय पनि अमेरिकी कारबाहीको दायरामा पर्न सक्छन् ।
“ती विमान अवतरण गरे भने तपाईंहरूले तिनलाई इन्धन उपलब्ध गराउन, अवतरण सेवा दिन वा टिकट बेच्न पाउनुहुने छैन । अन्यथा तपाईंहरूलाई अमेरिकी डलर प्रणालीबाट बाहिर निकालिनेछ,” बेसेन्टले भने ।
यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानमाथि बढाउँदै आएको आर्थिक दबाब अभियानकै पछिल्लो कदम हो । अमेरिकी अर्थ मन्त्रालयले यसै महिनाको सुरुमा प्रतिबन्धको सूचीमा नरहेका इरानी एयरलाइन्स तथा उसको उड्डयन क्षेत्रलाई सहयोग गरेको आरोप लागेका इरानबाहिरका कम्पनीमाथि समेत प्रतिबन्ध लगाएको थियो ।
वर्षौंदेखि अमेरिकी प्रतिबन्धमा रहेको इरानको उड्डयन उद्योग यसअघि नै कमजोर अवस्थामा छ । प्रतिबन्धका कारण इरानी एयरलाइन्सलाई नयाँ विमान, पार्टपुर्जा तथा मर्मतसम्भार सेवा प्राप्त गर्न कठिन हुँदै आएको छ ।
अमेरिकाले इरानलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग्याउने उद्देश्यले व्यापक प्रतिबन्ध लगाउँदै आएको छ । यसअन्तर्गत ‘सेकेन्डरी स्यांक्सन’ले इरानसँग व्यापार गर्ने विदेशी कम्पनीलाई समेत अमेरिकी कारबाहीको जोखिममा पार्छ । ऊर्जा, जल यातायात, प्रविधि, सुन, डिजिटल सम्पत्तिलगायत क्षेत्रमा इरानसँग कारोबार गर्ने विदेशी कम्पनी पनि यसको दायरामा पर्न सक्छन् ।






