काठमाडौं । काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माणको काम धमाधम भइरहेको छ। माइतीघर–बानेश्वर सडकखण्डमा पैदल यात्रुको चाप बढ्दै गएपछि सुरक्षित रूपमा सडक वारपार गर्न सहज बनाउने उद्देश्यले पुल निर्माण भइरहेको हो।

हाल उक्त स्थानमा संरचना तयार गर्ने, फलामे संरचना जडान गर्ने लगायतका निर्माण कार्य भइरहेको छ। करिब एक वर्षअघि निर्माण प्रक्रिया सुरु भए पनि पछिल्लो समय कामले गति लिएको हो।

ADVERTISEMENT

बबरमहलमा आकाशे पुल नहुँदा पैदल यात्रु व्यस्त सडकमा सवारीसाधनको चापबीच जेब्राक्रसबाट सडक पार गर्न बाध्य हुँदै आएका छन्। पुल निर्माण भएपछि पैदल यात्रुको आवागमन थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

बबरमहलसँगै शान्तिनगर क्षेत्रमा पनि आकाशे पुल निर्माणको काम अघि बढाइएको छ। पैदल यात्रुको सुरक्षित आवागमनलाई ध्यानमा राख्दै सरकारले यी क्षेत्रमा आकाशे पुल निर्माणका लागि बजेट विनियोजन गरेको हो।

भौतिक पूर्वाधार मन्त्रालयले रणनीतिक सडकअन्तर्गत बबरमहलमा आकाशे पुल निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ र मीनभवन क्षेत्रमा पुल निर्माणका लागि ४ करोड रुपैयाँ बजेट छुट्याएको छ।

ADVERTISEMENT

आकाशे पुल निर्माण सम्पन्न भएपछि पैदल यात्रुले सुरक्षित रूपमा सडक पार गर्न पाउने र व्यस्त सडकखण्डमा सवारी आवागमनसमेत सहज हुने अपेक्षा गरिएको छ।