काठमाडौं । अवकाशपछि पेन्सनपट्टा बनाउन सामुदायिक विद्यालयका शिक्षकले काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने भएको छ। राष्ट्रिय किताबखाना (शिक्षक) शाखाले शिक्षकका लागि ई–पेन्सन सेवा लागू गर्ने तयारी गरेको हो। शाखाका निर्देशक विश्वास विकका अनुसार काठमाडौं र भक्तपुरमा गरिएको परीक्षण सफल भएपछि सेवा क्रमशः देशभर विस्तार गरिनेछ।
परीक्षणका क्रममा काठमाडौं र भक्तपुरका शिक्षकले सम्बन्धित जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाईबाट पेन्सनपट्टा प्राप्त गरेका थिए। काठमाडौंकी चन्द्रकला कार्की र भक्तपुरका जगतकृष्ण सामाले ई–पेन्सन सेवा लिएका छन्।
हालसम्म अवकाशपछि पेन्सनपट्टा बनाउन शिक्षकले विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाई हुँदै काठमाडौंस्थित शिक्षक किताबखानाको कार्यालयसम्म पुग्नुपर्ने अवस्था थियो। नयाँ व्यवस्थापछि शिक्षकले आवश्यक कागजात सम्बन्धित इकाईमा बुझाएपछि जिल्लाबाटै पेन्सनपट्टा प्राप्त गर्न सक्नेछन्।
निर्देशक विकका अनुसार इकाईमा बुझाइएका कागजात केन्द्रमा पठाइनेछ र केन्द्रबाट रुजु भएपछि जिल्लाबाटै पेन्सन सुविधा उपलब्ध गराइनेछ।नेपालभर करिब १ लाख ८ हजार स्थायी शिक्षकको दरबन्दी रहेको छ। अवकाशपछि कागजात बोकेर काठमाडौं आउनुपर्ने अवस्थाले समय र खर्च दुवै बढ्ने गरेको गुनासो हुँदै आएको थियो।
शिक्षक किताबखानाले ई–पेन्सन सेवा सफल परीक्षणपछि क्रमशः ७७ वटै जिल्लामा विस्तार गर्ने जनाएको छ। यसअघि निजामती कर्मचारीका लागि पनि गत चैत ६ गतेदेखि ई–पेन्सन सेवा सुरु गरिएको थियो। राष्ट्रिय किताबखानाका सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठका अनुसार निजामती कर्मचारीले सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै पेन्सनपट्टा प्राप्त गर्ने व्यवस्था गरिएको छ।






