काठमाडौं । नजिकिँदै गरेको दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गरी यात्रालाई सुरक्षित बनाउने विषयमा यातायात व्यवस्था विभागमा सरोकारवाला निकायबीच बृहत् छलफल भएको छ ।
तर, देशभरका सडकको नाजुक अवस्था र प्रतिकूल मौसमका कारण सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खोल्ने विषयमा भने तत्काल कुनै ठोस सहमति जुट्न सकेको छैन ।
विभागले सडक विभाग, नेपाल प्रहरी राजमार्ग सुरक्षा महाशाखा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नाडा, नाइमा, उपभोक्ता हित संरक्षण मञ्च र ल्होत्से बहुउद्देश्यीय सहकारीलगायत सरोकारवालालाई आमन्त्रण गरी चाडपर्वलक्षित यातायात सहजीकरणका लागि बैठक बोलाएको थियो ।
विभागको सभाहलमा सोमबार आयोजित बैठकमा प्रतिकूल मौसम, बाढीपहिरोका कारण बिग्रिएका सडक तथा यात्रु सुरक्षाका चुनौतीबारे विस्तृत छलफल भएको थियो ।
बैठकपछि कुराकानी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सडकको अवस्था सुधार नभएसम्म अग्रिम टिकट बुकिङ खोल्न हतार गर्न नसकिने बताए ।
‘टिकट काट्नु मात्रै ठूलो कुरा होइन, यात्रुलाई सकुशल गन्तव्यमा पुर्याउनु अहिलेको प्रमुख चुनौती हो,’ सिटौलाले भने, ‘प्राकृतिक प्रकोप र वर्षाका कारण उपत्यका बाहिरिने सडक मात्र नभई देशभरका कुना–कन्दराका सडकहरू पहिलाभन्दा निकै खराब र चुनौतीपूर्ण बनेका छन् ।’
सडकको अवस्था र सुरक्षा चुनौतीलाई लिएर थप आन्तरिक गृहकार्य गर्नुपर्ने भएकाले बैठक बिनानिष्कर्ष टुंगिएको छ । व्यवसायी र सरोकारवाला निकायहरूले आ–आफ्नो तर्फबाट आवश्यक तयारी गरेपछि छिट्टै अर्को बैठक बसेर अग्रिम टिकट बुकिङको मिति तय गरिने सिटौलाले जानकारी दिए ।






