काठमाडौँ । चाडपर्वको समयमा सार्वजनिक यातायातको भाडा नबढाउने यातायात व्यवसायीले प्रतिबद्धता जनाएका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत रहे हाल कायम भाडादरमै यात्रुलाई सेवा दिने बताएका हुन्।
सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सिटौलाले सरकारले तोकेको सामान्य, डिलक्स र सुपर डिलक्स सार्वजनिक सवारीको भाडादर कार्यान्वयन गर्ने व्यवसायीहरू प्रतिबद्ध रहेको बताए।उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म हाल कायम रहेको भाडादरमै यात्रुलाई सेवा प्रदान गर्छौँ।’
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको भए पनि चाडपर्वको समयमा यात्रुलाई असर नपर्ने गरी सरकारले इन्धनको मूल्य स्थिर राख्नुपर्ने उनको भनाइ छ।
चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले सडकको अवस्था र यातायात व्यवस्थापन चुनौतीपूर्ण हुने सिटौलाले बताए। सडकको दयनीय अवस्थाका कारण यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन समस्या हुने भए पनि सरकारसँग समन्वय गरेर सेवा सञ्चालन गर्ने उनले बताए।
महासंघले चाडपर्वलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने जनाएको छ। यात्रु ठगिने अवस्था रोक्न तोकिएका बसपार्क तथा आधिकारिक काउन्टरबाट मात्रै टिकट काट्ने व्यवस्था गर्नुपर्ने सिटौलाको भनाइ छ।
अग्रिम बुकिङ गरिएका बसलाई चाडपर्वको समयमा अन्य प्रयोजनमा नलगाउन व्यवसायीहरूलाई निर्देशन दिइएको पनि उनले जानकारी दिए।यात्रुको सहज आवतजावतका लागि निश्चित समयमा मालवाहक सवारीसाधनको आवागमन रोक्न तथा सडक मर्मतको कामलाई तीव्रता दिन उनले सरकारसँग आग्रह गरेका छन्। चाडपर्व नजिकिँदै जाँदा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले भाडादर, अग्रिम टिकट बुकिङ, सडकको अवस्था र यातायात व्यवस्थापन मुख्य चासोका विषय बनेका छन्।








