काठमाडौं, असोज ५ । बन्दी सहायता नियोग (पाम) ले जापानको आइची/नागोयामा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई बिदाइ गरेको छ।

पामले आफ्ना खेलाडीसहितको जुडो टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको हो। एसियाडमा जुडो प्रतियोगिता असोज १४ गतेदेखि सुरु हुनेछ भने नेपाली टोली असोज १० गते जापान प्रस्थान गर्ने तालिका छ।

ADVERTISEMENT

जुडोमा नेपालबाट समान ३–३ पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि सुजन गुरुङ सहभागी हुनेछन्।

ADVERTISEMENT

महिलातर्फ ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि देवकीमाया श्रेष्ठ र ७० केजीमुनि पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्।

देवकीमाया श्रेष्ठ र विकास विकको यो दोस्रो एसियाड सहभागिता हो भने अन्य खेलाडीले पहिलोपटक एसियाली खेलकुदमा सहभागिता जनाउँदैछन्। देवकीमाया र निशा दिदीबहिनी हुन् भने विकास र विशेष दाजुभाइ हुन्।

ADVERTISEMENT

टोलीको प्रशिक्षकमा सुनिता मगर ताम्राकार रहेकी छन्। एसियाडकै लागि आईटी एक्सपर्ट सुप्रसिद्ध ताम्राकार पनि जापान जानेछन्।

देवकीमाया र निशा पामका उत्पादन हुन्। देवकीमायाले यसअघि चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा आफ्ना दाजु इन्द्रबहादुर श्रेष्ठसँगै सहभागिता जनाएकी थिइन्। इन्द्रबहादुरसहित ओलम्पियन मनीता श्रेष्ठ प्रधान पनि पामकै उत्पादन हुन्।

पामबाट जुडो खेलाडी उत्पादन र विकासमा पामका कार्यकारी निर्देशक तथा प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठको महत्वपूर्ण योगदान रहेको बताइएको छ। श्रेष्ठ आफैँले पनि सन् १९९० मा चीनको बेइजिङमा भएको एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए।

जुडो टोलीलाई पामका कार्यवाहक अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, ओलम्पियन ऋषिराम प्रधान, देबु थापा तथा जुडोका प्रमुख प्रशिक्षक वीरेन्द्र रन्जितलगायतले बिदाइ गर्दै सफलताको शुभकामना दिएका थिए।