काठमाडौँ। जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन्। पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
राउतले अध्यक्षमा आफ्नो मात्रै उम्मेदवारी परेको र विधानअनुसार आवश्यक प्रक्रिया पूरा हुने बताएका छन्।
जनमत पार्टीको दोस्रो महाधिवेशन असोज ९ र १० गते वीरगञ्जमा हुँदैछ। अध्यक्षमा राउत निर्विरोध भए पनि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि भने प्रतिस्पर्धा हुने भएको छ। प्रारम्भिक उम्मेदवार सूचीअनुसार सात उपाध्यक्षका लागि १४ जना, महासचिवका लागि ३ जना, उपमहासचिवका लागि २ जना र सात सचिवका लागि १० जनाको उम्मेदवारी परेको छ।
महाधिवेशनबाट अध्यक्षसहित १७ पदाधिकारी रहने १५१ सदस्यीय केन्द्रीय समिति चयन गर्ने जनमतको तयारी छ। त्यसमध्ये १०० केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था गरिएको छ।
निर्वाचन समितिको कार्यतालिकाअनुसार असोज ३ गते उम्मेदवारविरुद्ध दाबी–विरोध, असोज ४ गते उम्मेदवारी फिर्ता र असोज ५ गते अन्तिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ। असोज १० गते वीरगञ्जमा महाधिवेशन तथा मतदान हुने कार्यतालिका छ।
जनमत पार्टीको पहिलो महाधिवेशन २०७७ चैत २८ गते जनकपुरको बाह्रबिघामा भएको थियो। त्यसबेला राउत अध्यक्षमा निर्वाचित भएका थिए।
राउतले यसअघि ‘स्वतन्त्र मधेश’ अभियान सञ्चालन गरेका थिए। तत्कालीन सरकारले उनका गतिविधिमाथि रोक लगाउँदै उनलाई २०७५ असोजमा पक्राउ गरेको थियो। करिब पाँच महिना जेल बसेपछि २०७५ फागुनमा तत्कालीन सरकारसँग ११ बुँदे सहमति गर्दै उनी मूलधारको राजनीतिमा आएका थिए।






