काठमाडौँ । साझा यातायातले काठमाडौं उपत्यकामा आफ्नो रात्रिकालीन सार्वजनिक यातायात सेवालाई व्यापक विस्तार गरेको छ ।

संविधान दिवसको अवसर पारेर कम्पनीले हाल सञ्चालनमा रहेको सेवालाई चार गुणाले बढाउँदै शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको हो ।

ADVERTISEMENT

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि सुरु भएको रात्रिकालीन सेवा हाल दुईवटा रुटमा सीमित थियो। अब उक्त सेवा विस्तार गरी उपत्यकाका विभिन्न क्षेत्र समेटिने गरी थप रुटहरूमा बस सञ्चालन गर्न लागिएको हो ।

ADVERTISEMENT

यस्ता छन् नयाँ र विस्तारित रुटहरू :

शनिबारदेखि नयाँ व्यवस्थाअनुसार निम्न रुटहरूमा विद्युतीय बसहरू सञ्चालन हुनेछन्

ADVERTISEMENT

बुढानीलकण्ठ–गोदावरी : ६ वटा बस
जगाती–रत्नपार्क–ठमेल : ६ वटा बस
चक्रपथ परिक्रमा (दुवैतर्फ) : ८ वटा बस
विमानस्थल–नागढुंगा : ४ वटा बस
कीर्तिपुर–जमल : ४ वटा बस

साथै यसअघि नै सञ्चालनमा रहेका नागढुंगा–एयरपोर्ट रुटमा ४ वटा र लगनखेल–बुढानीलकण्ठ रुटमा ३ वटा बसहरूलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ ।

साझा यातायातका अनुसार यी रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म छुट्नेछन् । यात्रुको चाप र आवश्यकताका आधारमा समय र बसको संख्यामा थप समायोजन गर्न सकिने कम्पनीले जनाएको छ ।