काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषय प्रभावकारी रूपमा उठाउन प्रधानमन्त्री बालेंद्र शाह नेतृत्वको सरकारलाई आग्रह गरेका छन्।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘द ग्रीन टेबल’को १८औँ श्रृङ्खला ‘हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी’ विषयक संवाद कार्यक्रममा बोल्दै थापाले महासभामा सिंगो देशको प्रतिनिधित्व हुने गरी नेपालको धारणा प्रस्तुत गर्न सुझाव दिए।
प्रधानमन्त्री शाहले पहिलोपटक महासभालाई सम्बोधन गर्न लागेको भए पनि त्यसलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको थापाको भनाइ थियो। उनले विगतका सरकारबाट प्राप्त अनुभव र उपलब्धिलाई निरन्तरता दिँदै आगामी सरकारका लागि समेत मार्गदर्शन हुने गरी नेपालको धारणा राख्न सुझाव दिए।
थापाले जलवायु परिवर्तनका विषयमा अध्ययन गरिरहेका विज्ञ तथा अनुसन्धानकर्ताको सुझाव लिएर वैज्ञानिक प्रमाणसहित नेपालको मुद्दा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुपर्ने बताए। उनका अनुसार महासभामा नेपालले कुन विषयमा आवाज उठाउने र कुन विषयमा आफ्नो पक्ष स्पष्ट रूपमा राख्ने भन्ने कुरा पहिल्यै स्पष्ट हुन आवश्यक छ।
उनले विपद् प्रभावित क्षेत्रमा बस्ती पुनःस्थापना गर्ने कि नगर्ने, विपद् व्यवस्थापनका संस्थालाई कसरी बलियो बनाउने तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि कस्ता कदम चाल्ने भन्ने विषयलाई समेत अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने बताए।
थापाले अनुमानका आधारमा नभई प्रमाण र अध्ययनमा आधारित भएर नेपालको जलवायु संकट प्रस्तुत गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री शाह आगामी सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क जाने कार्यक्रम छ। उनले सेप्टेम्बर २४ मा महासभाको जनरल डिबेटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसपटक नेपालले जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी गरेको छ।










