काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूसँग छलफल गर्दै आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न आग्रह गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले नवीन सोचका साथ अघि बढ्दै युवालाई आत्मनिर्भर बनाउन भूमिका खेल्न आग्रह गरेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा नवीनतम प्रविधि, डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र वातावरणीय सन्तुलनसहित दिगो विकासका विषयमा छलफल भएको छ।
शाहले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने र समस्या समाधानमुखी व्यवहार अपनाउन सुझाव दिएका छन्। साथै, राजनीतिलाई मात्रै पेशा नबनाई आम्दानीको छुट्टै आधार निर्माण गर्दै दीर्घकालीन रूपमा आत्मनिर्भर बन्न उनले आग्रह गरेका छन्।
छलफलमा सहभागी सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने काममा जुट्ने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ।






