नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक निष्काशन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ।
प्रस्तावित निर्देशिकाले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न चाहने कम्पनीका लागि सामान्य तथा वित्तीय योग्यता, संस्थागत सुशासन, संस्थापक सेयरधनी, सञ्चालक तथा व्यवस्थापनको योग्यता लगायतका मापदण्ड तोक्नेछ।
त्यस्तै, विवरणपत्र तथा सूचना प्रवाह, ड्यु डिलिजेन्स, निष्काशनबाट प्राप्त रकमको उपयोग र अनुगमन, निष्काशनपछिका दायित्व, अनुपालना तथा नियामकीय अनुगमनसम्बन्धी व्यवस्था पनि मस्यौदामा समेटिएको छ।
सेबोनका अनुसार विभिन्न उद्योगको प्रकृति र जोखिमअनुसार जोखिममा आधारित आईपीओ योग्यता प्रणाली विकास गर्ने उद्देश्यसमेत निर्देशिकाले राखेको छ। यसबाट सार्वजनिक निष्काशनका लागि योग्य र पारदर्शी संस्थाको छनोट तथा लगानीकर्ताको हित संरक्षणमा जोड दिइने बोर्डको भनाइ छ।
यो मस्यौदा सरकारले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ कार्यान्वयनको सुरुवातका रूपमा सार्वजनिक गरिएको हो।
बोर्डले मस्यौदामाथि सरोकारवालाबाट राय, सुझाव तथा प्रतिक्रिया मागेको छ। सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सेबोनको इमेल ठेगाना [email protected] मा सुझाव पठाउन सकिने बोर्डले जनाएको छ।






